Friday, May 18, 2012

‘अ’ को श्रृंगार


म आज अस्थिर भएको छु
आफैंमाथि अविश्वास पलाएको छ
अशक्त अनुभव गरेको छु
समयले सायद अस्विकारेको छ।

अनिश्चितता, असन्तुष्टि र असफलता
सबैले धकेलिरहेछ अंधकारतिर
खै, खोज्न त चाहन्छु म
अ हटाईकन ती सबै।

तर हरेक पाइला अगाडी बढाउॅंदा
अझै अर्को पाइलाको स्थान देख्दछु
जति जति स्थिरतातिर लम्किन खोज्छु
त्यति नै अस्थिर भईदिन्छु।

निश्चित त केवल काल हो भन्छन्
तर खै, त्यसमा पनि म देख्छु
एक भयानक अनिश्चितता
अकालै पो आउने हो की, ठेगानै छैन
सायद यही हो- निश्चितताको अनिश्चितता।

मेरो मन त आज अशान्त छ नै
होला, अन्य नेपालीको मन पनि
जतिसुकै अप्रिय लागे पनि
कामना छ केवल अखण्ड नेपाल कै ।।


No comments: